काठमाण्डौ । नेपाल इको प्यानल देशका दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थालिएको छ। 

पछिल्लोपटक संखुवासभा जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु बस्ने भवनका लागि नेपाल इको प्यानलको प्रयोग गरिएको हो। 

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विकट दुर्गम गाउँहरुमा पुर्याउन सहज हुने भएकोले यसको प्रयोग हुने गरेको बताए। ‘यातायातको सहज सुविधा नभएका विकट ठाउँहरुमा पुर्याउन हाम्रो इको प्यानल निकै नै सहज हुन्छ’, उनले भने, ‘यो हलुका हुने भएकोले सबैतिर पुर्याउन सहज हुने भएको हो।’ 

इटा, सिमेन्टजस्ता सानोसानो टुक्रा नभई ठूलठूलो हुने र साथै हलुका पनि हुने भएको यसलाई विकट ठाउँहरुमा पुर्याउन सहज हुने भएको हो। इको प्यानल पहिला नै कारखानामा तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने आधुनिक निर्माण सामग्री हो। यसको प्रयोग गर्दा इटा, सिमेन्टको गाह्रो लगाउँदा जस्तो सिमेन्ट घोलेर बस्न नपर्नेलगायतले पुयाउन मात्रै नभई प्रयोगमा पनि सहजता हुन्छ। यस हिसाबले गिट्टी, ढुंगा, सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री पुर्याउन असहज हुने दुर्गम ठाउँहरुका लागि इको प्यानल बरदान नै सावित छ। 

कम्पनीका सीईओ इन्जिनियर दुवालले यी प्यानलहरु हिमाल, तराई अनि पहाड सबैतिर उतिकै उपयोगीसिद्ध भएको बताए। बाहिरको तातो र चिसोभित्र नआउने भएका कारण जाडो वा गर्मी दुवै हुने ठाउँहरुमा यसको उपयोगिता विशेष रहने उनले बताए। बाहिर जाडो हुने ठाउँमा पनि यसको प्रयोगबाट कोठामा जाडो नहुने र बाहिर गर्मी हुने ठाउँमा पनि कोठाभित्र गर्मी हुन नदिने यसको विशेष विशेषता भएकाले यसको प्रयोग जुनसुकै वातावरण भएको ठाउँंमा पनि उतिकै उपयोग रहेको उनले सुनाए। 

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा पार्टेसन वालका रुपमा प्रयोग हुने निर्माण सामग्री हो। निर्माणस्थलमा लगेर जोडेमात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण पनि सम्भव हुन्छ।