काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको पछिल्लो मतपरिणाममा केही रोचक तथ्यहरु बाहिर आएका छन् । केही दलका शीर्ष नेताहरुकै वडामा उनीहरुले नेतृत्व गरेको दलले पराजयको धूलो चाटेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहक्षेत्रको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारीले बाजी मारेकी छिन् । अमरगढी नगरपालिकालाई देउवाले प्रतिष्ठाको बिषय बनाएका थिए । उनी एकसातासम्म यो क्षेत्रमा बसेर पार्टीलाई जिताउने उद्देश्यले प्रचार प्रसारमा होमिएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अमरगढी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विश्वेवरप्रसाद ओझाले कांग्रेस उम्मेद्वार डिल्लीराज जोशीलाई १२८ मत अन्तरले हराए । ओझाले ३ हजार ७६८ मत पाए भने जोशीले ३ हजार ६४० मत प्राप्त गरे । उपमेयरमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मतका साथ जित हासिल गरिन् । काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत ल्याइन् ।
उता, फोरम लोकतान्त्रिकका अध्यक्ष तथा वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारको घर भएको वडामा उनको पार्टीले लज्जाजनक हार व्यहोरेको छ । सुनसरीको दुहबी भलुवा नगरपालिकाको २ नम्बर वडामा कांग्रेसका अरविन्दकुमार विश्वासले २ सय ८३ मतसहित जित हासिल गरेका हुन् । फोरम लोकतान्त्रिकका ललितकुमार चौधरी २ सय ७० मत ल्याएर पराजित भए ।
यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको वडाबाट संघीय समाजवादी फोरमले जित हासिल गरेको छ । कँडेलको पाल्हीनन्दन गाउँपालिका– १ बाट संघीय समाजवादी फोरमका लल्लन यादव विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका चुल्हाई यादवलाई १ सय २७ मतले हराएका हुन्।
निर्वाचनको बहिष्कारमा रहेको राजपाका वरिष्ठ नेता हृदयश त्रिपाठीको घर रहेको प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसले जितेको छ। सो वडामा फोरम लोकतान्त्रिकलाई हराउँदै नेपाली कांग्रेसका रामहरि उपाध्यायको पूरै प्यानल बिजयी भएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago