काठमाण्डौ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले दोलखाको तामाकोशी गाउँपालिकाका सबै मतदानस्थलको बुुथ कब्जा गरेका आरोप लागेको छ । 

कांग्रेस र माओवादी कार्यकर्ताले बुुथ कब्जा गरेपछि एमाले कार्यकर्ता र समर्थकहरुले मतदान कार्य बहिस्कार गरी हिँडेका स्थानीय संचारकर्मीहरुले बताएका छन् । 

एमालेका तामाकोशी गाउँपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका  पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका बताइएको छ । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरी समेत दिएका छन् । एमालेका अनुसार बैत्येश्वर गाउपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा कांग्रेस र माआवादी केन्द्रका कार्यकर्ताले हतियार देखाउँदै मतदाता लखेटेर बुथ कब्जा गरेका छन् । 

सुरक्षा निकायलाई जानकारी गराउँदा सुरक्षा दिन नसक्ने जवाफ आएको भन्दै उम्मेद्वारहरु आफै सुरक्षाका लागि गाँउ छाडेर हिँडेका स्थानीय संचारकर्मीहरुले जनाएका छन् ।

अन्य जिल्लाको तुलनामा दोलखा निकै तनावग्रस्त बनिरहेको छ । यहाँका अन्य मतदान केन्द्रमा समेत तनावको अवस्था छ । बिगु गाँउपालिकाको आलम्पु केन्द्रमा पनि तनाव भएपछि त्यहाँ केही घण्टा मतदान कार्य स्थगित भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बैत्वश्वरको गैरीमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका र गोली लागी केही मतदाता घाइते भएका छन् । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरीले समेत पुष्टि गरेको छ । 

यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै तनाव भएको छ । तामाकोसीकै कालापानी बुथमा पनि झडप  भएको छ ।  झडपमा एमालेका २ नम्बर वडाका अध्यक्षका उम्मेद्वार परशु कार्की र एक जिल्ला कमिटी सचिवालय सदस्य घाइते भएका छन् । तामाकोशीको सहरेमा पनि फायरिङ्ग भएपछि मतदान स्थगित भएको छ । मेलुङ गाँउपालिकाको मेलुङ बुथमा पनि झडप भएको छ । दोलखाका अधिकांस स्थानमा काग्रेस र एमाओवादीको गठबन्धन छ । प्रचार प्रसारकै क्रममा दोलखाको जुगुमा एक एमाले कार्यकर्ताको कुलबहादुर तामाङको हत्या भएको थियो ।