काठमाण्डौ । नेपाली र भारतीय ब्रान्ड र आगन्तुकहरूलाई एउटै मञ्चमा जुटाई एक–अर्का देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट यही असोज ३० गतेबाट नेपाल भारत फ्रेन्चाइज एक्सपो, अवार्ड र समिट आयोजना हुन लागेको छ।

कात्तिक २ गतेसम्म चल्ने यो तीनदिने सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो। सम्मेलनमार्फत नेपाल तथा भारतका प्रसिद्ध ब्रान्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्रान्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन्। सम्मेलनलाई दुई हजारभन्दा बढी योग्यलगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरसिप तथा अनुमतिपत्रलगायतमा व्यावसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमका रूपमा उपयोग गरी लाभ उठाउने छन्।

गएको वर्ष काठमाण्डौमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको अभूतपूर्व सफलतापश्चात यो सम्मेलनलाई एक स्थापित कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यअनुसार दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल र भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो। 

यो सम्मेलनलाई नेपाल र भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदानप्रदानको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। 

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो। उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नवीनतम सोचको आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। 

नेपाल युवाको बाहुल्यता रहेको देश हो। कूल जनसंख्याको करिब ६० प्रतिशत ३० वर्षमुनिको जनसंख्या रहेको छ। 

कोभिड १९ को महामारीभन्दा पहिले धेरैजसो प्रतिभाशाली युवाहरु विश्वव्यापी प्रसिद्ध ब्रान्डमा काम गर्ने इच्छासहित विदेशिने गर्दथे। अब विश्वको ध्यान नेपालतर्फ आकर्षित गरी नेपाली युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्न प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू आकर्षित गर्नुपर्ने समय आएको छ। फ्लिपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्टजस्ता प्रतिष्ठित ब्राण्डहरुसहित १ सयभन्दाबढी भारतीयसहित अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भइरहेका छन्।