काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको क्षेत्रीय कार्यालय इटहरीमातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखसहित प्रथम त्रैमासिक समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ। 

यही कात्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, मानव संसाधन विभाग प्रमुख लोमश भट्टराई तथा योजना, असुली, तालिम विभाग प्रमुख एवं इटहरी क्षेत्र प्रमुख राजेश श्रेष्ठले सहजीकरण गरेको २ दिने तालिममा आर्थिक वर्षको पहिलो त्रैमासमा राखिएको लक्ष्य र उपलब्धि तथा आगामी समयको लक्ष्यका बारेमा छलफल गरिएको थियो।

बीमा साझेदार संस्था सूर्या लाइफ इन्स्योरेन्स प्रदेश नं. १ का प्रमुख ताराबहादुर दाहाल एवं इटहरी शाखा प्रमुख यज्ञराज खनालसहितको उपस्थितिमा भएको कार्यक्रममा दाहालले सहभागीलाई उत्प्रेरित गरेका थिए। इटहरी क्षेत्रमातहतका चार वटा ब्लक स्टेसन प्रमुखहरु दिपेश श्रेष्ठ, षडेन्द्र त्रिखत्री, वीरेन्द्र झा र तिलक साउदले सहभागीहरुलाई समीक्षा कार्यक्रम एवं समूहगत कार्यमा सहजीकरण गरेका थिए। 

समूहगत छलफलबाट हालैको समस्याहरुको पहिचान गरी उक्त समस्याको समाधानका लागि शाखा, ब्लक, क्षेत्र र केन्द्रले गर्नुपर्ने भूमिकाहरु पहिचान गरिएको थियो।

त्यसैगरी संस्थाको बौनिया क्षेत्रअन्तर्गतका फिल्ड कर्मचारीहरुलाई पनि कार्य सञ्चालन सीप अभिवृद्धि तथा गुणस्तर व्यवस्थापन तालिम यही कात्तिक १२ र १३ गते प्याराडाइज होटल बौनिया कैलालीमा सम्पन्न भएको थियो।