काठमाण्डौ । ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो २०८०’ असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ।

हिमालयन इन्टरनेसनल एक्सपो आईएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रियस्तरको ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो २०८०’ असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ। एक्सपोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्सपोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्सपोका संयोजक कपिल अधिकारीले बताए। 

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए। यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरु, हेण्ड मेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाकाहरु, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप) प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ।

इन्टरनेसनल एक्सपोमा ५०० जनाभन्दा बढी विदेशी क्रेताहरु (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशहरुबाट) को आगमन हुने भएको छ।

यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई डिजीटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ। निःशुल्क रजिस्ट्रेसन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई १०० रुपैयाँको अनलाइन सपिङ भौचार उपलब्ध गराइने भएको छ। सो भौचारमार्फत अवलोकनकर्ताले इन्टरनेसनल एक्सपोस्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने संयोजक अधिकारीले जानकारी दिए।

अर्नसिक्का नामक डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्सपोको डिजिटल कारोबारमा साझेदारी गर्न लागिएको छ।

नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रियस्तरमा परिचित गराई एक्सपोस्थल लिएर उपयुक्त स्थानहरुमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन इच्छुक सबैमा स्टल बुकिङ खुला गरिएको छ।