मकवानपुरगढी । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुरगढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरेक हुन्। सामूहिक प्रयासबाट सशक्तीकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको असाधारण मानिएको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीको हातबाट भएको हो। 

कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले यस सुरुआतले ग्रामीण विकासलाई प्रवद्र्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्याउने कुरामा जोड दिए। 

यस परियोजनाअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ। परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरुलाई कृषि क्षेत्रमा सफलताका लागि आवश्यक सीपहरु प्रदान गर्ने रहेको छ। 

तालिमपश्चात यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरुसँग लिंक गर्नेछ। दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरु प्रदान गर्नुका साथै सहभागीहरुलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरु स्थापना गर्ने योजना पनि बनाएको छ। यसका साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋणलगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ।

द कोका–कोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘महिला सशक्तीकरण र दिगो कृषि प्रवर्द्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ। माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरुलाई जिवनमा सफल हुनका लागि आवश्यक उपकरण र अवसरहरु प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौँ।’ 

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रुपमा सशक्तीकरण गर्नमात्र नभई हामी भविष्यमा दोहोर्याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि छौँ। हामी कोका–कोला फाउन्डेसनकोे सहयोगप्रति कृतज्ञ छौँ र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौँ।’

द कोका–कोला फाउन्डेसनले नेपालका लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तीकरणसम्मका विविध परियोजनाहरुमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ। यस्ता पहलले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ। 

द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरुसँग साझेदारी निरन्तर गर्दै आएको छ।

कोका–कोला सिस्टमले ५० वर्षभन्दा बढी समयदेखि नेपालीलाई एकजुट गर्न, मेजरेबल ट्रान्स्फर्मेसन गर्न र नेपालमा विकास ल्याउन प्रयास गर्दै आएको छ।