काठमाण्डौ । धनकुटा भन्ने बित्तिकै राप्रपा र थापाकाजीहरुलाई सम्झन्छन् धेरै नेपालीले । पछिल्लो समय यो क्षेत्रमा राप्रपाको अवस्था केही खस्किएको छ । नयाँ अवस्थासँगै यो क्षेत्रमा माओवादीले पनि राम्रै बाजी मारेको थियो । तर, स्थानीय निकायको निर्वाचनमा धनकुटाबासीले नयाँ टेस्ट खोजेका देखिएको छ । 

धनकुटाका सबै स्थानीय निकायको प्रारम्भिक मत परिणाम हेर्दा यहाँ एमालेको सूूर्य उदाउने देखिएको छ भने कांग्रेस दोश्रो तथा माओवादी शून्यमा झर्ने अवस्था देखिएको छ । 

धनकुटा नगरपालिकामा एमालेका मेयर तथा उपमेयरका उम्मेद्वारले ५ सय ४५ मत ल्याउँदा कांग्रेस १२५ मा कायम छ । माओवादीले दुवै पदमा समान ८७ मत ल्याएको छ । यो क्षेत्रमा राप्रपा ५५ मतसहित तेश्रो स्थानमा छ । 

पाख्रीबास नगरपालिकामा पनि एमाले अगाडि छ । मेयर र उपमेयरका एमाले उम्मेद्वारले २०५ र २०९ मत ल्याएका छन् भने कांग्रेस १३० र १२४ मतसहित दोश्रो स्थानमा छ । यो ठाउँमा ३० मतसहित माओवादी तेश्रो र ३७ मतसहित राप्रपा चौथो स्थानमा छ । 

महालक्ष्मी नगरपालिकामा राप्रपा एमालेको गठबन्धनका मेयर र उपमेयरका उम्मेद्वारल ३९२ र ४०९ मतसहित अग्रता लिएका छन् । कांग्रेस १२२ र ९९ मतसहति दोश्रो र माओवादी ७० र ४० मतसहित तेश्रो स्थानमा छ । 

छथर जोरपाटी गाउँपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेद्वारले ८५ र ८० मतसहित अग्रता लिएका छन् । यहाँ माओवादी ६६ र ७८ मतसहित दोश्रो स्थानमा छ भने राप्रपा २२ र १३ मतसहित तेश्रो स्थानमा छ । यो नगरपालिकामा कांग्रेस चौथो स्थानमा छ । 

खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । यहाँ एमालेका मेयर र उपमेयर उम्मेद्वारले ८२९ र ८३८ मत ल्याएका छन् । कांग्रेस ३७५ र ३४५ सहित पछ्याइरहेको छ । माओवादी ३४२ र ३३० मतसहित तेश्रो स्थानमा छ । 

चौबीसे गाउँपालिकामा समेत एमाले अग्रता छ । एमालेले ४९ र ५४ सहित सुरुवाती अग्रता लिएको छ । संघीय फोरम र कांग्रेस गठनबन्धले ३६ र २७ मत ल्याएका छन् । माओवादी ११ र ७ सहित तेश्रो स्थानमा छ । 

साँगुरीगढी गाउँपालिकामा भने कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसले मेयर र उपमेयरमा २६र १४ मत ल्याउँदा एमालेले १८ र ८ तथा माओवादीले ६ र १८ मत पाएको छ ।