काठमाण्डौ । राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व. सूूर्यबहादुर थापाले लामो समयसम्म राज गरेको धनकुटामा स्थानीय निर्वाचनमा भने राप्रपाकै पत्तासाफ हुने संकेत देखिएको छ । यो जिल्लाको सातैवटा स्थानीय तहको मुख्य पदमा एमालेले फराकिलो मतअन्तरले अग्रता लिएको छ। 

धनकुटाको हालसम्मको मतपरिणाम हेर्दा पहिला राप्रपा र पछि माओवादीको पकड क्षेत्र मानिने धनकुटामा यसपटक एमालेले स्वीप(सबैलाई बढारिदिने) संकेत देखिएको छ । 

हिजोसम्म ६ वटा स्थानमा एमाले र एक स्थानमा कांग्रेसको अग्रता थियो । तर, एमालेले बाँकी एक स्थानमा समेत आफ्नै अग्रता कायम गर्दै अगाडि बढेको छ । 

पछिल्लो मतपरिणाम अनुसार धनकुटामा एमालेले मेयर र उपमेयरमा फराकिलो मतअन्तर कायम गरेको छ । एमालेले यी दुुई पदमा १८३३ र १९८९ मत ल्याएको छ । कांग्रेसले ९०० र ५९५ मतसहित पछ्याइरहेको छ । माओवादी केन्द्रले ७३३ र ६३३ मत ल्याई तेश्रो स्थानमा छ । 

पाख्रीबासमा समेत एमालेको अग्रता फराकिलो बनेको छ । एमालेले मेयर र उपमेयरमा १३२७ र १३५३ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको माओवादीले ४८१ र ४७४ मत ल्याएको छ । कांग्रेसले ४२२ र ४३२ मत प्राप्त गरेको छ । 

महालक्ष्मी नगरपालिकामा पनि एमालेको अग्रता कांग्रेसको भन्दा दोब्बर रहेको छ । एमालेले मेयर र उपमेयर पदमा १४०० र १४३६ मत ल्याएको छ । यस्तै, कांग्रेसले ७७४ र ६६४ मत ल्याएको छ । राप्रपा माओवादी गठबन्धनले ४१६ र ३८३ मत ल्याएको छ । 

छथर जोरपाटी गाउँपालिकाको प्रमुखमा एमालेकै फराकिलो अग्रता छ । तर, उपप्रमुखमा भने माओवादी अगाडि छ । एमालेले दुवै पदमा ९२४ र ८४० मत ल्याएको छ भने दोश्रो स्थानमा रहेको माओवादीले ७०४ र १०८५ मत ल्याएको छ । राप्रपाले ५६० र ३२२ मत ल्याएको छ । 

खाल्सा छिन्तांग शहिदभूमि गाउँपालिकामा एमालेले मेयर र उपमेयरमा २२३३ र २२४० मत ल्याएको छ । ११९२ र ११४१ मतसहित माओवादी दोश्रो स्थानमा तथा ७५२ र ६०७ मतसहित कांग्रेस तेश्रो स्थानमा छ । 

साँगुरीगढी गाउँपालिकामा एमाले १०८२ र १०५६ मतसहित अग्रस्थानमा छ । ७८० र ५३८ मतसहित कांग्रेस दोश्रो तथा संघीय समाजवादी र माओवादी केन्द्रको गठबन्धन २८७ र ४१६ सहित तेश्रो स्थानमा छ । 

चौबीसे गाउँपालिकामा एमालेले मेयर र उपमेयरमा ११०४ र १०९४ मत ल्याएको छ भने कांग्रेसले ८६५ र ७४९ मतले पछ्याइरहेको छ । संघीय समाजवादी र माओवादी गठबन्धन १२५ र १३८ मतसहित तेश्रो स्थानमा छ ।