काठमाण्डौ । धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत ३ दिनसम्म फरक प्रकारको रौनकता देखियो। विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्रगतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो। 

उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको हो। तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ। 

नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश रानामगरले दोस्रो र तेस्रो स्थान हासिल गरे।

त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे। 

१५० सीसीअन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसीअन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए। १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए। 

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको सहप्रायोजक कवच राइडिङ गियर रहेको थियो भने अफिसियल पार्टनर डर्ट टेम्पल रहेको थियो। त्यसैगरी लुब्रिकेन्ट पार्टनर भिडोल लुब्रिकेन्ट, टेक्निकल पार्टनर द इन्जिन्स, पर्फमेन्स हाउस  र मोटो टेक नेपाल रहेका थिए। मेडिकल पार्टनर धुलिखेल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी थिए। 

मिडिया पार्टनरमा अटो नेपाल र अटोमोबाइल म्यागजिनका साथै नेपाल अटो डटकम रहेका थिए भने क्यास्ट्रोल, लिक्विमोली, पेट्रोनस, गल्फ र रेप्सोल लुब्रिकेन्टको समेत सहयोग रहेको थियो। बेनेली बाइक, इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालि, हेल्मेट र विभिन्न पार्ट्स आयातकर्ता पौडेल इन्टरप्राइजेज र जेनिस पेन्ट्सको समेत सहयोग रहेको थियो। 

लकडाउनपश्चात पहिलो पटक राष्ट्रियस्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो।

यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने बताइएको छ। आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ।