काठमाण्डौ । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ। 

बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिडमात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो। एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितका रुपमा होइन बहादुरी जीवनयापकका रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन्। थप, विगतका पीडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पीडाविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाका रुपमा अघि बढिरहेकी छन्।  

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो। यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको छ। यसबाहेक नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरुलाई उजागर गर्ने प्रयास गर्दैछ। 

यस अभियानको सुरुआत गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ। यसै सिलसिलामा बैंकले फागुन २२ गते विभिन्न क्षेत्रका विज्ञहरुलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको थियो। 

वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकारसहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो। प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुन, एसिड आक्रमणका घटनाको विगत र वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरुका लागि उपलब्ध चिकित्सा हेरचाह तथा सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो। 

एसिड आक्रमण पीडितहरुमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरुकता बढाउन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ। यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाई स्टिरियोटाइपहरु तोड्न मिडियाको भूमिका र योगदानको सम्भावनाको बारेमा समेत छलफल भएको थियो। 

बसन्ती मोडेलमात्र होइनन् प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमणजस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ। यो सन्देशमूलक अभियान आगामी दिनमा पनि जारी रहनेछ।