काठमाण्डौ। नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ। 

काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन्। 

यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथीभाइ र प्रियजनलाई सुरक्षित रुपमा रकम पठाउन सक्नेछन्। रेमिटेन्स गर्नेबित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्छन्। ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुका माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ।

बैंकले आफ्ना रेमिटेन्स÷विप्रेषण ग्राहकका लागि रेमिटरहरुका लागि विशेष विशेषतासहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी÷विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्रमार्फत सबै रेमिटेन्ससम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवासम्बन्धी सहयोगसमेत प्रदान गर्नेछ।

साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाका बारेमा उल्लेख गरेका थिए। उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वका बारेमा दुवैले विशेष जोड दिए। 

विदेशबाट फर्किने कामदारहरुका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरुमार्फत विदेशबाट रकम पठाउनुु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्नेबारेमा पनि कार्यक्रममा विशेष जोड दिइएको थियो।