काठमाण्डौ । नबिल बैंक लिमिटेड र एसियन पेन्टस नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो।

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टसका प्रमुख वित्त अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टसका अन्य कार्यकारीको पनि उपस्थिति थियो।  

यस सम्झौताअन्तर्गत एसियन पेन्टस नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल फाइनान्सिङका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन्।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकहरुलाई सामान बिक्री गरेको बिलबराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ। बैंकले सम्बन्धित व्यवसायीहरुका लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरुसमेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरुले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए। उनले व्यवसाय विस्तारका लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनअनुरुप नै सम्पूर्ण खरिद–बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो।