काठमाण्डौ । बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ हुने भएको छ। बैंकिङ समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिनेछ। 

नबिल बैंकद्वारा प्रायोजित यो कार्यक्रम जेठ २ गते मंगलबार काठमाण्डौस्थित सोल्टी होटलमा हुने भएको हो। 

यो कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेसनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ। 

यस्तै आजको बैंकिङको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाब, वित्तीय साक्षरताका विषयहरु, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेसनको स्थिति र चुनौतीलगायतका विषयमा हुने बृहत परिसंवादले हालको अभूतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्यसहितका जबाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ। 

कार्यक्रममा आजको बैंकिङ क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ, सटिक विश्लेषण र व्याख्यासहित रेमिट्यान्स, वित्तीय साक्षरतालगायत विभिन्न विषयमाथिको गहन विमर्श हुने बताइएको। सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ।

विश्व कोभिड माहामारीबाट तङ्ग्रिँदै गर्दा सुरु भएको रुस–युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मूल्य वृद्धिलाई निम्त्याएको छ। फलस्वरुप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभावित छ। यसै परिपेक्षलाई ध्यान केन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्वसन्ध्यामा यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। 

कार्यक्रममा प्रधानमन्त्री, गर्भनर, अर्थमन्त्री, अर्थविद्लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित हुने बताइएको छ।