काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डस्टिजबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको छ। 

नबिल इन्भेस्टमेन्ट बैंकि र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजबीच संस्थागत परामर्श सेवाअन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनको कार्य गर्ने, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता समन्वयकारी तथा सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा श्रीनगर एग्रिटेकका तर्फबाट प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेस्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन्। सार्वजनिक निष्कासनका लागि कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ। 

श्रीनगर एग्रिटेकले विगत दुई दशकदेखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्य गर्दै आएको छ। कृषि क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको श्रीनगर एग्रिटेकले हाल ३०० भन्दा बढी व्यक्तिलाई रोजगार दिनुका साथै ५ हजारभन्दा बढी कृषकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ। 

फार्म, फिड तथा फुडको एकीकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेको केन्द्रीय कार्यालय काठमाण्डौको टंगालमा रहेको छ भने लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ। यस कम्पनीको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ। 
सम्झौतामा नबिल इन्भेस्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ।