काठमाण्डौ । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ। 

बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुआत गरेको हो। ग्राहकले यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सक्नेछन्। 

एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ। एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लगइन गर्न एउटै आईडी र पासवर्डको वा क्यूआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (एनबैंक र अपरेसन्स) विनयकुमार रेग्मी भन्छन्, ‘एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एपजस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ। यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।’ 

अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गतेदेखि बन्द हुने भएको छ। व्यक्तिगत खाता सञ्चालन गर्ने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नेछन्। उनले भने, ‘हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकले कर्पोरेटपेमा दर्ता गर्नुपर्नेछ।’

एनबैंक वेबमार्फत ग्राहकले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरण हेर्न, मुद्दति निक्षेप खोल्ने र मुद्दति निक्षेपविरुद्ध ऋण लिनेजस्ता वित्तीय गतिविधि गर्न सक्छन्। यसका साथै एनरेमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेबमार्फत पहुँच गर्न सकिनेछ। एनबैंकको वेबको सुविधा यो लिंकमार्फत https://nbank.nabilbank.com  लिन सकिनेछ।

एनबैंक वेबले उच्चस्तरको सुरक्षा समावेश गरेको उल्लेख गर्दै डीसीईओ रेग्मीले भने, ‘एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरुको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो इन्क्रिप्सन, दुई–कारक प्रमाणीकरण, स्वतः लगआउट सुविधा र सिम प्रमाणीकरणलगायतका बलियो उपायमार्फत उच्चस्तरको सुरक्षा प्रस्तुत गरेका छौँ।’

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। देशभरि २५५ शाखा र २८३ एटीएमसहित बैंकले ग्राहकको सन्तुष्टि र सेवामा उत्कृष्टताप्रति प्रतिबद्धतालाई सुदृढ गर्दै आफ्ना ग्राहकको विकासशील आवश्यकताहरु पूरा गर्न प्रयासरत छ। आफ्नो डिजिटल फुटप्रिन्टलाई थप विस्तार गर्न र डिजिटल बैंकिङतर्फ विश्वव्यापी परिवर्तनसँग पंक्तिबद्ध गर्न नबिल बैंकले बैंकभित्र भर्चुअल शाखा एनबैंक स्थापना गरेको छ।