काठमाण्डौ । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ। 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ।

कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ। अथवा, नबिल बैंकको वेबसाइटमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ। 

सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यो कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै, हरेक महिना ३ दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालिम अवधिभर तथा बाँकी ६ महिना गरी १ वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ। 

आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यो फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन्। विभिन्न पृष्ठभूमिबाट आएका सहभागीले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा करसम्बन्धीका ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारीकरण आदिजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो। 

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। जसको कुल निक्षेप रु. ३७८ अर्ब तथा कुल कर्जा रु. ३४० अर्ब रहेको छ। नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।

त्यस्तैगरी देशभरिको शाखा विस्तार भई २६५ शाखा र २९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रुपमा काम गर्दै आएको छ।

आवेदनका लागि तल दिइएको लिंकमा क्लिक गर्न सकिनेछ-

https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse