काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले उद्यमी बन्न चाहने  तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने  व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्श दाता सेवाअन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन ‘पिच–निक’ सेवा सञ्चालनमा ल्याएको छ। 

कम्पनीले प्रत्येक उद्यमी तथा उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक विचारहरुलाई छानीे उक्त व्यायसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ। यसका साथै कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोषअन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरुमार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस् वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्थामार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ। 

यो सेवा प्रायःजसो सुरुआत र हुर्कने अवस्थामा रहेका कम्पनीहरुका लागि आवश्यक हुन सक्छ। भेन्चर क्यापिटलअन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ। 

यो सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुमा व्यवसायीको निर्भरतालाई घटाई लगानीका अन्य सिर्जनशील उपायहरुद्वारा पुँजीको उपलब्धता गराउने कम्पनीले जनाएको छ।

त्यस्तै प्रायः परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यावसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिनेछ भने यसअन्तर्गत व्यवसायको विकास र विस्तारका लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकका रुपमा कार्य गरी व्यावसायीहरुको व्यावसाय सञ्चालनका लागि सहजिकरण तथा गुणात्मक मूल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ।

यसरी विगतका दिनमा यस कम्पनीबाट सञ्चालन गरिएका विभिन्न स्किमहरुबाट पूर्ण फाइदा लिएका लगानीकर्ता, उद्यमी तथा नयाँ व्यावसाय सञ्चालन गर्न चाहने व्यवसायी र उद्यमीले आफ्ना विचार यस योजनाअन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन कम्पनीमा खडा गरिएको पिच–निक डेस्कमा सम्पर्क गरी बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरी आफूले सोचेअनुसारको व्यावसाय सञ्चालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकोले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले पनि यसबाट पूर्ण रुपमा फाइदा लिन सक्ने कम्पनीको विश्वास छ। 

महिनाको अन्तिम शुक्रबार कुनै कारणवश बिदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल इन्भष्टमेण्टले जनाएको छ। 

यस प्रकारको सेवा प्राप्त गर्न चाहने उद्यमीहरुले यस कम्पनीको फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्सटेन्सन नम्बर १५६, १६२) मा सम्पर्क गर्न वा https://bit.ly/3PCvc5V मा क्लिक गरी आवश्यक विवरण भर्न कम्पनीले आग्रह गरेको छ।