नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन् । 

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन् ।

प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित रहेका राससले जनाएको छ । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उनीहरुले स्वागत गरे ।

प्रधानमन्त्री दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनेछन् ।

प्रधानमन्त्री दाहालले बिहीबार  अपराह्न यहाँस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनेछन् । 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेकी छिन्।

नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सोे कार्यभार तोकेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।