काठमाण्डौ । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षका अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ। 

यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्सयोरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। 

सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ। यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए। पार्टनर र यात्रु दुवैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन्। 

सहारा एपमार्फत दुईपांग्रे र चारपांग्रे सवारीसाधनका माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ। बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए। उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ। यात्रुहरुले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन्। 

एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड शेयरिङको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भइसकेको छ। एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौँका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ। १ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झन्डै २० हजार पार्टनरहरु आबद्ध छन्। 

सहाराले पार्टनर तथा यात्रुहरुलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरुसमेत सञ्चालन गर्दै आइरहेको छ।