काठमाण्डौ। द ब्रिटिस कलेज (टीबीसी) ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ ।

नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रूप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो ।

कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत/साधनहरुको क्षेत्रमा काम गर्नेछ । जसले स्रोत तथा साधनहरुको उपलब्धतासँगै विशेष कार्यक्रमहरु, कार्यशाला गोष्ठी, विजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरु प्रदान गर्नेछ ।

सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरु, विभिन्न पक्षहरुसँग समन्वय गर्ने अवसर, व्यापारिक समूह बीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ । 

इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रुपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरुसँगै यसको विस्तार योजनाको बारेमा बताएका थिए । उनले कलेजले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टर अन्र्तगत पर्ने पनि बताए ।

इन्क्युबेशन सेन्टरमा मुख्यतः विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरुको सुरक्षा र प्रत्याभुतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ । 

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टका पूर्वप्रमुख जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रालिका संस्थापक सुनिता शेर्पा,कलेजका संस्थापक तथा सीईओ राजन कँडेलको उपस्थिति थियो ।

इन्क्युबेशन सेन्टरले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा कोसेढुंगाको प्रतिनिधित्व गर्ने तथा आकांक्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।