काठमाण्डौ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ ।

परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  दिलेन्द्रप्रसाद बडु, र सामसङ  इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एचके पार्क लगायतको उपस्थिति रहेको थियो । 

समारोहलाई सम्बोधन गर्दै सामसङ  दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवम् सिइओ केन काङले भने “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरुप्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवम् मायाको प्रतिक हो । हामीे नेपाल सरकार र स्थानीय निकायहरुलाई उहाँहरुले दिनुभएको साथ सहयोगका लागि आभार व्यक्त गर्दछौं ।”

सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवम् प्रबन्धनिर्देशक  शेखर गोल्छाले भने “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्वबजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।”

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको सो क्रममा बताइएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदारमार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेब र स्मार्टफोनहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।

नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।