काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोटक विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनी सिएटद्वारा प्रायोजित नाडा ईभी एक्सपो–२०२२ आयोजना गर्न लागेको छ। 

काठमाण्डौको भृकुुुुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने एक्सपोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाका रुपमा सहभागी छ भने यूएसएड क्लिन एयरले नलेज पार्टनरका रुपमा ईभी चौतारी नामक तीनदिने सुचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ। एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ। 

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ।

वर्तमान समयमा विद्युतीय सवारीसाधनको महत्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ। वातावरणमैत्री विद्युतीय सवारीसाधनको अपरिहायर्तालाई मनन गर्दै आयोजना गर्न लागिएको एक्सपोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहनेछन्। एक्स्पोमा ९ वटा ब्रान्डका चारपांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्रान्डका दुई पांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाको सहभागिता रहनेछ।

नेपाली महान दसैँको पूर्वाद्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनबारे अत्याधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीको समस्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ।

एक्सपोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टलहरु रहनेछन् भने एक्सपोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ। 

एक्स्पोमा वरुण सुरक्षा एवं नियन्त्रणका लागि फायर सेफ्टी सपोर्टका रुपमा हिटको प्रालि रहेको छ। वातावरण एवं इभीसम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि यूएसएड क्लिन एयरले तीन दिनसम्म ईभी चौतारी नामक गोष्ठी सञ्चालन गर्ने भएको छ। आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काडमाण्डौको सूचना कक्षसमेत प्रदर्शनीमा रहने छ। 

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनीस्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन आजकै मितिदेखि खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती डिजिटल पेमेन्टद्वारा २५ प्रतिशत क्यास ब्याकको अफरसमेत रहेको छ। 

चार दिनसम्म चल्ने एक्स्पोमा लगभग ४० हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ।