काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् ।
दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल–कतार व्यवसायिक भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कतारको ४ दिने औपचारिक भ्रमणका साथ महासंघका अध्यक्ष राणाको नेतृत्वमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको महासंघको प्रतिनिधिमण्डल अहिले कतारको दोहामा रहेको छ ।
महासंघले मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थ व्यवस्थालाई सदैव विकेन्द्रीत अवधारणा अनुसार अघि सारेर कार्य गरिरहेको सो क्रममा उनले बताएकी थिइन् । लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको समेत अध्यक्ष राणाले प्रष्ट पारिन् । साथै उनले महासंघले पी–टु–पी अवधारणामार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिंदै आएको पनि बताएकी थिइन्।
चार लाख भन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाई नेपाली अर्थतन्त्रमा सहयोग पुर्याईरहेको उल्लेख गर्दै राणाले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रहरूमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने बताइन । द्विपक्षीय व्यापार अत्यन्त न्यून रहेको प्रसंग उठाउँदै राणाले व्यापार अभिवृद्धिका लागि दुवै देशबाट महत्वपूर्ण पहल हुनुपर्नेमा समेत जोड दिइन् ।
कार्यक्रममा कतारी उद्योगी व्यवसायीहरूले नेपालको कृषि, वित्तिय, उर्जा, पूर्वाधार, पर्यटन एवं नेपालमा वैदेशिक लगानी आकर्षणका लागि आवश्यक सहजीकरणमा महासंघको प्रतिवद्धता लगायतका अन्य थुप्रै क्षेत्रमा चासो देखाएका थिए ।
नेपाल तथा कतार बीच सन् १९७७ जनवरी २१ बाट दौत्य सम्बन्ध स्थापना भएको र सन् २००५ मा महासंघ र कतार उद्योग वाणिज्य संघ बीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गराउँदै उनले आपसी सहमतिअनुसार दुवै संस्था बीच व्यवसायिक भेटवार्ता, व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान, संयुक्त लगानी प्रवद्र्धन, लगानीका सम्भाव्य क्षेत्रहरूको पहिचान, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा सहकार्यका लागि पहल हुनुपर्नेमा समेत जोड दिइन ।
अध्यक्ष राणाले सन् २०२० को पर्यटन वर्षसँगै नेपालमा अन्तराष्ट्रिय तथा क्षेत्रीय विमानस्थल, द्रुतमार्ग, रेलवे, केवलकार र स्मार्ट सिटिज जस्ता पूर्वाधार निर्माणमा ठूलो लगानीको अवसर रहेको जानकारी गराइन । विशेष गरी उर्जा, पर्यटन, कृषि तथा वनजन्य, सूचनाप्रविधि तथा खानीजन्य, उत्पादनमुलक र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालले ठूलो लगानी खोजीरहेको बताइन । नेपाली कृषि उपजलाई कतारले सहज र सिधा पहुँच दिन पनि अध्यक्ष राणाले आग्रह गरिन् ।
नेपालमा हाल लगानी गरिरहेका वहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै मुनाफा कमाई आफ्नो लगानी विस्तार गरीरहेको जानकारी गराउँदै उनले सरकार पनि दोस्रोचरणको सुधार मार्फत बढी भन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी आकर्षणमा केन्द्रीत भइरहेको बताइन । अध्यक्ष राणाले अहिले नेपालबाट कतारमा थोरै सामाग्री निर्यात हुने गरेकोमा कृषि उत्पादनलाई बढावा दिन सके निर्यात बढ्ने समेत बताइन । औपचारिक भ्रमणका क्रममा दुवै देशका सरकार बीच कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएबाट थप सहकार्यका क्षेत्रमा ढोका खुलेको अध्यक्ष राणाले बताइन ।
महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट रू. ४४ करोड ५३ लाखको वस्तु तथा सामान आयात गरेको र नेपालबाट रू. ९३ लाख ८७ हजार मुल्य बरावरको वस्तु तथा सामान निर्यात भएको छ । यो व्यापार घाटालाई कम गरी व्यापार विस्तार हुनुपर्नेमा सो अवसरमा दुवै पक्षबाट जोड दिइयो ।
नेपालबाट पास्ता, कार्पेट, हस्ताकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिव १.४८ मिलियन अमेरिकी डलर वरावरको कतारी लगानी रहेको तथ्यांक छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19