काठमाण्डौ । भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्णयका कारण निर्वाचन आयोगभित्रै भाँडभैलो मच्चिएको छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पेलेर पुनः मतदान गर्ने निर्णय गराएको भन्दै आयुक्त नरेन्द्र दाहालले गम्भीर असहमति जनाएपछि भाँडभैलो मच्चिएको हो । आयुक्त दाहालको असहमति छरपस्ट भएसँगै आयोग निर्णय विवादमा परेको छ । 

आयोगले प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेकै भाषामा आयोगले निर्णय गरेको र पुनः निर्वाचन गराउने सुनियोजित योजनाको मतियार भएको भन्दै तीव्र आलोचना भइरहेको छ । दाहालले आफूहरुको सहमति हुँदा हुँदै केही आयुक्त र प्रमुख निर्वाचन आयुक्तले पेलेर निर्णय गराएको दाबी गरेका छन् । पुनः निर्वाचन गराउने नियतलाई सार्थक बनाउने गरी आयोगले निर्णय गरेको भन्दै यसले गलत प्रवृतिलाई प्रोत्साहन मिल्ने बताएका छन् । 

यसैबीच, कांग्रेस माओवादीको निर्देशन अनुसार नै आयोगको निर्णय आएपछि एमाले थप चिढिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगले गलत निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । 

उता, सत्तापक्षले पेलेर जाने रणनीति लिएपछि एमालेले नयाँ प्रधानमन्त्रीको आइतबार हुने भनिएको निर्वाचन हुन नदिने रणनीति लिएको छ । उसले आइतबार पनि संसद अवरुद्ध गर्ने स्पष्ट पारिसकेको छ ।