भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि गाउँ तथा शहर चुनाव प्रचार सामग्रीले बेहुलीझैँ सिंगारिएका छन् । 

निर्वाचन आचारसंहिता विपरीत दलहरुले उम्मेदवारको तस्वीर अंकित पोस्टर तथा ब्यानर, दलको झण्डा, चुनाव चिह्न अंकित झण्डा, ब्यानर एवं तुल र तोरण बनाएर गाउँ तथा शहरको गल्ली, सम्पदा क्षेत्र र बस्तीमा टाँगिदा बेहुलीझँै सिंगारिएको हो । 

निर्वाचन आयोगले यस प्रकारले चुनाव प्रचार सामग्री राख्न नपाइने गरी आचारसंहिता जारी गरे पनि यसको अवज्ञा भएको छ । 

जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जिप्रकामा आयोजना गरेको ‘आचारसंहिता’ सम्बन्धि छलफल कार्यक्रममा दलका नेताले नै आचारसंहिता उलंघनको कडा आलोचना गरेका थिए । 

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य (क) का विवेकशील साझा पार्टीका उम्मेदवार कालीचरण कार्कीले ठूला दललाई चैन, साना दललाई ऐन भन्ने उखान यतिखेरको निर्वाचनमा सार्थक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “सार्वजनिक सवारीसाधनदेखि भाडाका सवारीसाधनमा दलका चुनाव चिह्न र झण्डा हालिएको छ, गाउँदेखि शहरसम्म ठूला दलले पार्टी र चुनाव चिह्न अंकित झण्डा, ब्यानर, तुल र तोरण राखेर बेहुलीझैँ सिंगारिएको छ, तर आचारसंहिता कार्यान्वयन गराउने निकाय किन मौन छ ?” । 

पास र अनुमति नलिई दलहरुले जथाभावीरुपमा यातायातका साधनको प्रयोग गरेर प्रचारप्रसार गरिरहेको पनि उहाँले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधि एवं उम्मेदवारलाई २४ घण्टाभित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामाग्रीमा हटाउन निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो– “दलका प्रतिनिधि एवं उम्मेदवारलाई २४ घण्टाभित्र आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिएका छाँै, उहाँहरुले हटाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ, उहाँहरुले नहटाए मंगलबारदेखि सुरक्षाकर्मी हटाउने छ ।” 

आचारसंहिता विपरीत कार्य गर्ने उम्मेदवारको खोज गरेर त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएको पनि उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुको सहयोगको आवश्यकता रहेकाले आचारसंहिता विपरीत कार्य नगर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा निर्वाचन अधिकृत, प्रजिअ, सुरक्षा निकायका अधिकारी, निर्वाचन कार्यालय, दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।