काठमाण्डौ । नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी) ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ। 

खड्का २७ वर्षको उमेरमा सीईओ पदभार लिएका नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्। आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरुमा गहन अनुभव बटुलिसकेका छन्। उनले ‘खल्ती’ को व्यवस्थापन समितिसँग मिलेर ‘खल्ती’ को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्नेछन्।  

खड्का भन्छन्, ‘म यस उद्योगलाई थप सुविधा र सहजताका साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरी भुक्तानीका लागिमात्र प्रयोग हुने दायरा भन्दाबाहिर लग्न चाहन्छु।’

सीईओ नियुक्तिका अवसरमा कम्पनीमा अभिन्न भूमिका निर्वाह गर्दै आएका ‘खल्ती’ का चारैजना सहसंस्थापक तथा निर्देशकहरुले आ–आफ्नो सामाजिक सञ्जालमा यसबारे लेखेका छन्।

सामाजिक सञ्जालमा अमित अग्रवालले लेखेका छन्, ‘खल्ती अहिलेको सन्दर्भमा नवीन, युवामैत्री तथा प्रचलित ब्रान्ड हो, जसमा हामी २६ वर्षको औसत उमेरका संख्यामा २३० जना बढी रहेका छौँ। ‘खल्ती’ मा नयाँ लिडरसँगै ‘खल्ती’ नयाँ उचाइमा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौँ। सम्पूर्ण खल्ती परिवार उनका साथमा काम गर्न उत्सुक छन्।’ 

मनिष मोदी लेख्छन्, ‘म विश्वस्त छु कि युवा नेतृत्वमा खल्ती ठूलो उचाइमा पुग्नेछ। देशमा आर्थिक क्रान्ति ल्याउनका लागि म, मेरा सहसंस्थापकहरुको टोलीसँगै अझै मेहनेत गर्नेछु।’ 

ध्रुव अधिकारी आफ्नो धारणा राख्दै लेख्छन्, ‘एक कदम पछाडि गएर दुई कदम अगाडि बढ्ने बेला आएको छ। त्यसैले हामीले हाम्रा विश्वास र आकांक्षाहरू यी विगत केही वर्षहरुमा भएका भन्दा पनि बढाएका छौँ। खल्तीका लागि सीईओका रुपमा नियुक्त भएका विनय खड्काले अब २३० जना बढी रहेका खल्ती परिवारसँग मिलेर ‘मिसन डिजिटल’ लाई अघि बढाउने छन्। उनलाई यस परिवारमा स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु र हामी अझ धेरै नेपालीको फोन र मनमा पुग्नेछौँ भन्ने कुरामा म विश्वस्त छु।’ 

यसैगरी अरविन्द साह लेख्छन्, ‘समाजमा वित्तीय साक्षरतासहित विद्युतीय भुक्तानिको पहुँच सबै नेपालीमाझ सजिलै होस भन्ने सोचसहित ‘खल्ती’ ले आफ्नो दक्ष कार्यकारी प्रमुख पाएकोमा सबैलाई बधाइसहित जिम्मेवारी पाउनु भएको विनय खड्कालाई वित्तीय साक्षर समाज निर्माणको लक्ष्य प्राप्तिका लागि शुभकामना। साथै, यो अभियानमा सबैको साथका लागि हार्दिक अनुरोध गर्दछौँ।’ 

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ को प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। यसका साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताको संख्या २० लाखभन्दा बढी छन्।