काठमाण्डौ । नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ।

भेटका क्रममा दुवैदेश बीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सम्बन्धमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानबीच बुधबार भेटवार्ता भएको थियो भने मंगलबार रुसी प्रतिनिधिहरुसँग भेटवार्ता भएको थियो। 

नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो समयदेखि सम्बन्ध रही आएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको थियो। भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदानप्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो।

सोही अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले इजरायलबाट लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भइरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताएका थिए। उनले कोभिडको संक्रमण क्रमशः घट्दै गएकोले विस्तारै नेपालको पर्यटनले गतिलिने बताउँदै इजरायललााई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका थिए। 

नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए। उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायको अभ्यास राम्रो रहेकोले त्यस क्षेत्रमा आपसि सहयोग र सहकार्य गर्न सकिने धारणा राखे।