काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले बुधबार थप एउटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ।

बैंकले ८९औँ शाखाका रुपमा काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार शाखाको सुरुआत गरेको हो। बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका–११ का वडाअध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरे। 

कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिति थियो। यसका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबाट सञ्चालित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बैंकको संक्षिप्त चिनारीसहित स्वागत मन्तव्य राखेका थिए। 

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप एक नयाँ शाखाको उद्घाटन भएसँगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा ८९ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर स्थापना भएको छ।