काठमाण्डौ । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। 

ग्राहकले अब जुनसुकै वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी अधिकांश विकास बैंक, फाइनान्स कम्पनी, वालेट र कनेक्टरआईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ। 

नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ। 

नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धिलाई एक महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ। नेपालपे क्यूआर नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डको पूर्वधार हो। क्यूआर स्किमका रुपमा समेत पनि उपलब्ध रहेको नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। 

बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्कस्तरको अन्तरआबद्धता कायम भइसकेको छ। बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्ट आबद्ध गरिसकेका छन्।  

मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्। भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ। 

धेरैजसो बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ। हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेसन पनि केही बैंक तथा वित्तीय संस्थाले थालनी गरिसकेका छन्।