काठमाण्डौ । कोभिड महामारीसंकट धर्मराएको नेपालको पर्यटक क्षेत्रमा विस्तारै सुधार देखिन थालेको छ। नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धिसँगै पर्यटन क्षेत्रमा विस्तारै सुधार देखिन थालेको हो। 

नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को पहिलो महिना जनवरीमा नेपालमा भित्रिने विदेशी पर्यटकको संख्या १६ हजार ९७५ रहेको छ। जुन सन् २०२१ को यही महिनाको तुलनामा ९१.३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा ८ हजार ८७४ विदेशी पर्यटकले नेपाल भित्रिएका थिए। 

यो अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन्। भारतबाट ३ हजार ९१६ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष यही अवधिमा भारतबाट ४ हजार २८ जना नेपाल आएका थिए।

यो वर्षको जनवरीमा दोस्रो धेरै पर्यटक अमेरिकाबाट भित्रिएका छन्। अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक भित्रिएका छन्। गत वर्ष यही अवधिमा अमेरिकाबाट ८७४ जनामात्रै पर्यटक नेपाल आएका थिए।

जनवरीमा बेलायत १ हजार ८२४ पर्यटक भित्रिएका छन्। गत वर्ष यही अवधिमा बेलायतबाट १३६ जनामात्रै पर्यटक नेपाल आएका थिए। 

गत जनवरीमा सार्क मुलुकबाट ५ हजार ५०१ जना पर्यटक नेपाल आएका छन्। जुन गत वर्षको यही अवधिको तुलनामा ३२.५ प्रतिशतले बढी हो। गत वर्ष जनवरीमा ४ हजार १५१ पर्यटक सार्क मुलुकबाट भित्रिएका थिए। 

एसियाबाट अन्य देशबाट नेपाल भित्रिने पर्यटकको संख्या भने जनवरीमा ४७.२ प्रतिशतले घटको छ। गत वर्ष जनवरीमा २ हजार ११० पर्यटक भित्रिएकोमा यो वर्ष जनवरीमा १ हजार ११४ पर्यटकमात्रै भित्रिएका छन्। 

युरोपेली मुलुकहरुबाट गत जनवरीमा भित्रिने पर्यटकको संख्यामा भने ३९६.१ प्रतिशत बढ्दै ३ हजार ५२७ पुगेको छ। गत वर्ष जनवरीमा युरोपेली मुलुकहरुबाट ७११ जना पर्यटकमात्रै नेपाल भित्रिएका थिए।