काठमाण्डौ । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ। 

साउन ६, ७ र ८ मा आयोजना गरिएको तीनदिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए। जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए। 

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए। अमेरिकामा सन् १९२४ देखि सुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रमा फैलिएको छ। नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ म सुरु भएको हो। 

कार्यक्रममा डिस्ट्रिक्ट डाइरेक्टर डीटीएम अंकुर यादवले भने, ‘एक कुशल नेताले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नुपर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणा को साथ काम गर्नुपर्छ र यस वर्ष केही नयाँँ सिक्दै आफूमा सकारात्मक परिवर्तन ल्याउँदै र आफूलाई सुधार्दै अघि बढ्नु पर्छ।’ 

कार्यक्रममा पूर्वडिस्ट्रिक डाइरेक्टर डीटीएम रन्जित आचार्यले भने, ‘नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफूभन्दा आजको आफू सुधारिनु हो र तपाइँको प्रतिस्पर्धा अरु कोही नभएर तपाइँको विगतसँग हो। यसमा सफल हुनका लागि तपाइँमा जिम्मेवारबोध हुनुपर्यो, चनाखो हुनुपर्यो। सधैँ केही न केही गरिरहनुपर्यो र आफूले जे गरेको छ, त्यसमा रमाउन सक्नुपर्यो।’

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रुपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए। टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सीप व्यक्तिगत र व्यावसयिक जीवनमा पनि लागू गर्न सके धेरै प्रगति गर्न सकिने बताए।