काठमाण्डौ । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनी एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तर्क्रिया आयोजना गरेका छन्।
कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीलाई आग्रहसमेत गरिएको थियो। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए।
अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरे। ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ। बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ। अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाइँहरुले सहजीकरण गर्नुपर्यो’, उनले भने।
द्रूत आर्थिक विकास र समृद्धिका लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै शर्माले कोरियामा रहेका नेपालीलाई मुलुकमा वैदेशिक लगानी र नयाँ–नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे।
कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रक्रिया अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रक्रिया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे। ‘म यहाँका गैरआवासीय नेपालीसाथीहरु तथा गैरआवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाइँ हामी हातेमालो गरेर अगाडि बढाँै। तपाइँ हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ। नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाइँहरुले सहयोग गर्नुहोस्। नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाइँहरुको लगानीको सुरक्षा गर्न हामी तयार छौँ’, उनले भने।
‘म निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्ष, नेपालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष तथा नेपालको एउटा व्यवसायिक समूह, आइएमई समूहको अध्यक्षको हैसियतले यहाँहरुलाई निर्धक्कसँग नेपालमा लगानी भित्र्याउन र भित्र्याउने वातावरण निर्माण गर्न अनुरोधसमेत गर्न चाहन्छु’, ढकालले भने।
आइएमई समूहले गैरआवासीय नेपालीसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माणसम्पन्न गरेको उल्लेख गर्दै शर्माले पर्यटन, केबलकार, होटेल, जलविद्युतलगायत अरु धेरै परियोजना पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताए। उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्वीकृति पर्खिरहेको बताए।
‘दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्वीकृति लिइसकेका छौँ। स्थानीय कानुनी परामर्शदाताका माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरुपमा अनुरोध गरेका छौँ। अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ सेवाहरु सञ्चालन हुनेछ’, ढकालले भने।
दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचूर सम्भावना रहेको उल्लेख गर्दै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरु नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए।
कार्यक्रममा अर्थसचिब कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल तथा गैरआवासीय संघका प्रतिनिधिहरुले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताए।
कार्याक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकले ल्याएको विदेशी मुद्रा खाता, यसको सञ्चालन प्रक्रिया र यसका फाइदाबारे प्रस्तुतीकरण गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago