काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एसोसिएसन (नेफा) द्वारा हवाई सेवामार्फत सुरक्षित तवरले मालबस्तु आयात–निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टको सम्बन्धन तथा स्वीकृतिमा नेपालमा नै पहिलोपटक ‘कम्पेटेन्सी बेस्ड ट्रेनिङ एन्ड एसिस्मेन्ट सेन्टर्स प्रोग्राम (सीबीटीए) प्रणालीमा आईएटीए सर्टिफाइड डेन्जरस गुड्स रेगुलेसन कोर्स–२०२३ आयोजना गरेको छ। 

गत चैत ९ गतेदेखि ११ गतेसम्म ३ दिन सञ्चालित तालिम कार्यक्रममा नेपाली फ्रेट फरवार्डरस, संघका सदस्यहरु तथा सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि गरी १३ जनाले सहभागिता जनाएका थिए। संघको तालिम कक्षमा सञ्चालित यस कार्यक्रमलाई स्पिडविङ्स एभिएसन एकेडेमी इन्डियाबाट प्रशिक्षण गरिएको थियो भने इलिजम एचआर सोलुसन एन्ड करिअर डेभलपमेन्ट प्रालिबाट सहकार्य गरिएको थियो।

विगतमा यस तालिम लिनका लागि भारत वा अन्य विदेशी मुलुकमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी संघबाट उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड डिपार्टमेन्टको ऐन–नियमलाई समेटी आईएटीए तथा आईसीएओद्वारा निर्दिष्ट र यूएन कन्भेन्सनबाट पारित यो तालिम २०७३ सालदेखि सञ्चालन गर्दै आएको छ। 

हालसम्म संघबाट नेपाल वायुसेवा निगम, आन्तरिक विमान सञ्चालक, सुरक्षा निकाय तथा कार्गो व्यवसायीसमेत गरी ४० भन्दा बढी दक्ष जनशक्ति नेपालमै उत्पादन गरिसकेको छ। यस तालिम कार्यक्रमले खतराजन्य पदार्थ आयात–निर्यात गर्दा हवाई सुरक्षामा सहज हुने, नेपाली उड्डयन क्षेत्रमा दक्ष जनशक्ति प्राप्त गर्ने र विषेशगरी नेपाली विमानस्थल तथा उड्डयनको सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा समय–समयमा उठने प्रश्नहरुको प्रतिउत्तर प्रदान गर्न सहज हुनेछ।