काठमाण्डौ। ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाण्डौ विमानस्थलमा अवतरण गरेको छ।

विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरी आवश्यक प्रक्रियापश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित ओमानस्थित नेपाली राजदूतावासबाट आवश्यक प्रतिक्रिया अगाडि बढाएर स्वदेश फर्किने काम सुरु भएको हो। कोरोनाभाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली दूतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीका लागि मानवीय सहयोगस्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो। 

विपतको घडीमा व्यावसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने नेपाली दूतावाससँग आबद्ध सम्पूर्ण कर्मचारीले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन्।

सलाम एयरले नेपालमा आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ। नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको  हाराहारीमा नै माहामारीको अवस्था झेल्नुपरे पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जानकारी दिए। 

ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यावसायिक क्षमतामा वृद्धि गरेको छ। दिनानुदिन विभिन्न गन्तव्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ।
ओमानमै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवाप्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पुर्याउने लक्ष्य लिएको छ। हालसम्ममा २० वटा गन्तव्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थपगन्तब्यको घोषणासमेत गर्दैछ।

सुरक्षा नीतिलाई शून्य सहनशिलताका रुपमा लिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यावसायिक धर्मका रुपमा लिइएको छ। ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सलाम एयर सफल भएको छ।