काठमाण्डौ। नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन्। गत जुन १६ देखि १९ सम्म आयोजित प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए। 

रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन्। सो र्‍यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो। प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडीसमेत सहभागी थिए। 

दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो। यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो। तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो। तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो। सबैगरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरहरुले पार गरेका थिए। यसअनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो। 

ग्रुप डीअन्तर्गत पनि साह २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए। यसअनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए। यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए। सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ।

यसरी पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन्। हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायक लगायतले पुरस्कार वितरण गर्दा साहले ढाका टोपी र नेपाली झन्डा भएको टिसर्ट लगाएका थिए। उनी नेपालबाट सहभागी भएको सुन्दा खुसी व्यक्त गर्दै उनीहरुले थप हौसला दिदै आगामी दिनमा समेत सहभागी हुन आग्रह गरे।