काठमाण्डौ । भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा गत फाल्गुण २३ र २४ गते  भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गरेका थिए ।

सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, साना र मझौला” उद्योगहरुको महत्व सहित उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावना विषयक कार्यशालमा वरिष्ठ उपाध्यक्ष अग्रवाल र परिसंघ राष्ट्रिय परिषद्का सदस्य राजबहादुर शाहले सक्रिय सहभागिता जनाए । वरिष्ठ उपाध्यक्ष अग्रवालले कार्यक्रममा सहभागी विभिन्न देशका उद्योगी व्यवसायी तथा विज्ञहरुसँग नेपालको निजी क्षेत्रले लघु, साना तथा मझौला उद्योग र ठूला उद्योगको संयोजनबाट उत्पादन तथा वितरण विस्तारमा भइरहेका कार्यहरु बारे धारणाहरु आदान–प्रदान गरे ।

सोही कार्यक्रममा सहभागी भएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले नेपालले समृद्ध देश सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न लघु तथा घरेलु र मझौला उद्योग प्रर्वद्धनलाई राष्ट्रिय महत्वका साथ अघि बढाएको बताए । राज्यमन्त्री दुगडले स्थानीय तहमा समेत उद्योग ग्राम विस्तार गर्दै पूँजी र प्रविधि हस्तान्तरण मार्फत लघु, साना तथा मझौला उद्योगलाई आर्थिक विकासको मूल प्रवाहमा जोड्न विभिन्न कार्यक्रमहरु भइरहेको बताए । 

सोही सम्मेलनको उद्योग ४.० सत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले अतिकम विकसित देशको रुपमा नेपालका उद्योगहरुलाई प्रविधि हस्तान्तरण तथा रुपान्तरणमा सहयोग आवश्यक रहेको र त्यसमा सघाउन सरकारले प्रयास गरिरहेको जानकारी दिए । उद्योगहरुको प्रविधिमा पहुँच तथा श्रमिकहरुको दक्षता अभिवृद्धिका लागि समेत सरकार उद्योगी र अन्य साझेदारहरुले मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि मन्त्री दुगडले बताए । 
दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगडसहित परिसंघको प्रतिनिधि मण्डलले पी एच्डीसीसीआई तथा यस अन्र्तगतको भारत नेपाल सेण्टरसँग पनि छलफल गर्यो । सो छलफलमा  नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समीक्षासहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर तथा सहकार्य बढाउने विषयमा छलफल भयो । 

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने थिए ।