नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताएका छन् । 

यहाँस्थित होटल ताजमा नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गरे ।

प्रधानमन्त्री दाहालले भने–‘नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन । तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस् ।’

उनले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको बताए । प्रधानमन्त्रीले भने–‘नेपाल सुरक्षित लगानी गन्तव्य हो भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्छ । उहाँले नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ ।’ प्रधानमन्त्री दाहालले भारतीय लगानीकर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाए ।

त्यसैगरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै बजारमा लगानी पनि आवश्यक छ भने ।

उनले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्नुपर्ने बताए । डा. महतले नेपालमा जलविद्युत, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँुदै त्यसतर्फ ध्यान दिन अनुरोध गरे । नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताए । उनले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पारे ।

सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गर्दै त्यसका लागि आफूले पहल गर्ने बताए । उनले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा रहेका लगानीका अवसर बारेमा भारतीय व्यापारी समुदायलाई जानकारी गराएका थिए ।