काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताका लागि सम्झौता भएको छ। 

सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात एनडीपीसीले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फछ्र्यौट गर्न सक्नेछ भने एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ पहुँच बढाउन थप पहल गर्नेछ। 

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंकद्वारा स्थापित कम्पनी हो। जसले गर्दा यसमा ग्रामीण क्षेत्रको पहुँचदेखि लिएर वित्तिय तथा बैंकिङ सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्।  तसर्थ, यस कम्पनीले देशका कुनाकाप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तिय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथगर्ने छ। हाल प्रारम्भिक टेस्टिङको चरणमा रहेको एनडीपीसीको मोबाइल वालेट सञ्चालनमा आएपश्चात अनलाइन र अफलाइन दुवै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताले समेत उक्त मोबाईल वालेट प्रयोग गर्न मिल्नेछ। एनडीपीसीले हालै नेपाल राष्ट्र बैंकबाट ‘नमस्ते पे’ सञ्चालनगर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ।

दूरसञ्चार कंम्पनीले प्रवर्द्धन गरेको एकमात्र भुक्तानी सेवा प्रदायक, एनडीपीसी तथा बैंक वित्तीय संस्थाहरुले प्रवर्द्धन गरेको भुक्तानी प्रणाली सञ्चालक, एनसीएचएलबीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहक तथा डिजिटल भुक्तानीको पूर्वाधार–बैंक वित्तीय संस्थाका ग्राहकलाई जोड्ने अपेक्षा गरिएकोले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको छ। यसले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहलहरुलाई थप टेवा पुर्याउने विश्वास गरिएको छ। 

एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएसएनआईपी र कर्पोरेट पे प्रणालीहरु सञ्चालन गर्दै आएकोमा हाल ६३ सदस्य बैंक वित्तीय संस्था र ५८ गैरबैंकिङ संस्था इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन्। 

एनसीएचएलले बैंक वित्तीय संस्थाहरुका साथै भुक्तानी प्रणालीहरुमा विभिन्न सरकारी तथा अर्ध–सरकारी संस्था, पीएसपी/पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंकलगायतका संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई डिजिटल भुक्तानीको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।