काठमाण्डौ । नेपाल बैंक लिमिटेडले बुधबार काठमाण्डौको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाल बैंक, काठमाण्डौ बैंकिङ अफिस र साउथवेस्र्टन स्टेट कलेजको सहकार्यमा विद्यार्थीहरुलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। साउथवेस्र्टन स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीको सभापतित्वमा सञ्चालित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा नेपाल बैंक लिमिटेडका ब्रान्ड एम्बासेडर महावीर पुन प्रमुख अतिथिका रुपमा रहेका थिए। विशेष अतिथिका रुपमा नेपाल बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैंक काठमाण्डौ बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, नेपाल बैंक मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, युवा उद्यमी सोना अमात्य, नायिका तथा मोडेल पूजा पन्तलगायतका अतिथिहरु उपस्थिति थियो। 

कार्यक्रमको सञ्चालन कलेजका भाइस प्रिन्सिपल हरि सिंह केसीले गरेका थिए। करिब २०० विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवासुविधाहरु, डिजिटल बैंकिङ प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरुका बारेमा जानकारी गराइएको थियो। 

प्रमुख अतिथि पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ रहेको भन्दै हरेक विद्यार्थी उद्यमशिल बन्नुपर्ने आजको आवश्यकता रहेको बताए। राष्ट्रिय आविष्कार केन्द्रले उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने आश्वासन पनि उनले दिए।

कार्यक्रमका सभापति तथा कलेजका प्रिन्सिपल डा. केसीले डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै विद्यार्थीहरुले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे। 

नेपाल बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता अधिकारीले नेपाल बैंक र सााउथ वेस्टर्न स्टेट कलेजबीच आगामी दिनमा थप सहकार्य गरी अगाडि बढ्न सकिने विषयमा प्रस्ट पारे। नेपाल बैंक मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख कँडेलले डिजिटल बैंकिङसम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने कार्यक्रममा युवा उद्यमी सोना अमात्यबाट पनि आफ्नो विचार व्यक्त गरिएको थियो। 

अनवरत विश्वासको ८५ औँ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ। बैंकले हाल ७२ जिल्लाका २१३ शाखा, १५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।