काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ। 

नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ तथा लुम्बिनी विकास बैंकका तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी र आईटी र कार्ड प्रमुख विशल जोशीले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

योसँगै अब लुम्बिनी विकास बैंकले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ। अब लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट र रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ। यसका साथै तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्चस्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो। जसले विशेषगरी बैंक तथा वित्तीय संस्था, पीएसपी, रेमिट्यान्स कम्पनी र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ। 

समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो। जसले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।