काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसेडरमा डा. महावीर पुनलाई निरन्तरता दिएको छ।

गत वर्ष नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको हो। हिजो माघ २० गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनका बीच उक्त ब्रान्ड एम्बेसेडर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। 

कार्यक्रममा डा. पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बेसेडरका रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे। उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्रीवृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. पुनजस्तो विशिष्ट ब्यक्तित्वका साथै आमनेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बेसेडरका रुपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए। उनले डा. पुनले नेपाल बैंक  छनोट गर्नुभएकोमा हार्दिक आभारसमेत व्यक्त गरे। 

नेपालभरि २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउनटरलगायत करिब २ हजार ५०० कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक अहिले नेपालको स्वस्थ र सबल बैंकका रुपमा अगाडि बढिरहेको छ। पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्र रुपमा व्यवसाय विस्तार गर्न सफल बैंकप्रतिको विश्वासका कारण नेपाल बैंक ग्राहककोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ।