काठमाण्डौ । विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालयमार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ। 

यसका साथै ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन्। 

नेपाल रेमिट इन्टरनेसनलले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। विशेषगरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममानै बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै रेमिट्यान्स भुक्तानी लिन सकिन्छ। 

ग्रीन डेभलपमेन्ट बैंक बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत बाग्लुङ नगरपालिकामा ५ जिल्लास्तरीय विकास बैंकका रूपमा ‘संवृद्धिको लागि साझेदारी’ भन्ने नाराका साथ स्थापना भएको विकास बैंक हो। बैंकले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ। यसका साथै यो बैंक बाग्लुङ जिल्लाका पहिलो स्थानीय विकास बैंक पनि हो।