काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त जिल्लाको रत्ननगर- १ घर भएका सरस्वती चौधरीका दुई सन्तानलाई एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री बापतको १ लाख १५ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको  हो ।

रत्ननगरस्थित शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका मार्केटिंग मेनेजर पुर्णिमा गौतम, चितवनका लागि कम्पनीको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका सञ्चालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एशोसियशनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारीलगायतले संयुक्त रुपमा चौधरीको परिवारलाई चेक हस्तान्तरण गरेका हुन ।  

रत्ननगरमा मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो ।

बीसी अटोवर्कशप सञ्चालन गर्दै आएका उनी एक कर्मठ र दक्ष अटो मेकानिक रुपमा परिचित रहेको कम्पनीले बताएको छ ।

कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईले कम्पनीले अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेको बताए ।