काठमाण्डौ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । 

कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको कम्पनीले बताएको छ ।
यस्ता छन् टेलिकमले थपेका सुविधा :

नयाँ सिममा थप सुविधा

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत एक जीबी डाटा चलाउन सकिने छ भने कम्पनीकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्ससमेत उपलब्ध हुनेछ । 

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम

कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । 

नयाँ सिमकार्डमार्फत एक जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुनेछ ।

डाटा बोनस

विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ । 

यस अनुसार एमपोसमार्फत १०० देखि १९९ रुपैयाँको रिचार्ज गर्दा एक दिनका लागि एक जीबी, २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन एक जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

त्यसैगरी फिजिकल रिचार्जमार्फत् १०० रुपैयाँको रिचार्ज गर्दा एक दिनका लागि एक जीबी, २०० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन एक जीबीका दरले दुई दिनका लागि दुई जीबी र ५०० रुपैयाँ तथा १ हजार रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिनका लागि आठ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

कम्पनीले यी सबै नयाँ सुविधा आगामी पुस १ गतेदेखि प्रारम्भ हुने र फागुन ३० गतेसम्म उपलब्ध हुने बताएको छ ।