काठमाण्डौ । नेपोभिट टाइल्सले बजारमा छिट्टै नयाँ फ्लोर तथा वाल टाइल्स भित्र्याउने भएको छ। 

कम्पनीको पहिलो वार्षिकोत्सव समारोहमा कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारले यस्तो जानकारी दिएका हुन्। ‘नेपोभिट टाइल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुनेछ’, उनले भने, ‘छिट्टै बजारमा नयाँ फ्लोर तथा वाल टाइल्स भित्र्याउने छौँ।’ 

कार्यक्रममा कम्पनीका शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेको विविध समस्याहरुबारेमा जानकारी गराएका थिए। उनले कच्चा पदार्थ उत्खनन र ढुवानीसम्बन्धी स्पष्ट ऐन–कानुन नहुनाले लागत रकमभन्दा बढी तिरेर अथवा छिमेकी मुलुकबाट चर्को शुल्क तिरेर कच्चा पदार्थ ल्याई उद्योग सञ्चालन गर्नुपरेको गुनासो गरे। 

झाले बारम्बार अघोषित लोडसेडिङको मार खेप्नु परिरहेकोले डिजेल खरिद गरी उद्योग सञ्चालन गर्न बाध्य हुँदा समग्र उत्पादन तथा उत्पादन प्रक्रियामा नै मूल्य बढेको पनि बताए। उनले सरकारले लागत कर तोकिदिँदा पनि भन्सारबाट सामान छुटाउनलाई विभिन्न वाधा अड्चन आइपर्ने र पटक–पटक तोकिएको भन्दा ३० प्रतिशतसम्म बढी शुल्क असुल भएको जानकारी दिए। 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, पूर्वमहान्यायाधिवक्ता रमणप्रसाद श्रेष्ठ, नायक राजेश हमाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।