काठमाण्डौ। नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा आएको छ। 

उक्त नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसीएचएलले केही बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मिट कार्यक्रमको आयोजना गरी गरिएको हो। प्रेस मिटमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, एनआईसी एशिया बैंकका चिफ स्टे«टजी अफिसर विशाल सिग्डेल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुंगेल, समृद्धि फाइनान्स कम्पनीका चिफ मेनेजर विनोदराज पौडेल, फोकसवान सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको उपस्थिति थियो। 

कार्यक्रममा अन्य पदाधिकारी एवं मिडिया तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो। 

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर  सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। 

यसरी अन्तरआबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवर्द्घन र सहज गर्ने अपेक्षा गरिएको छ। 

प्रेस मिटमा उपस्थित रहेका बैंक वित्तीय तथा संस्था र भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरुले नेपालपे क्यूआरको प्रवर्द्धन तथा स्वीकार्यता बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 

हालसम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्टआईपीएसलगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिनेछ। यी सबै गरी कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्। जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन्। 

यसका साथै नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनसमार्फत क्यूआर एक्वायरको कार्य पनि सुरु भइसकेको छ। 

हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाएकोे छ। जसअन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियनपे, अलिपे, नेपालपे क्यूआरलगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ। हाल उक्त बैंक वित्तीय संस्था र पीएसपीले नेपालपे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन्। 

नेपाल सरकारको राजस्व भुक्तानी समेत नेपालपे क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ। जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्टआईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ। 

नेसनल पेमेन्ट स्विचअन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्य गर्दै आएको छ। जसका निम्ति ४० बैंक तथा वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने क्रममा रहेका छन्। 

नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्यूआरलगायत भर्चुअल पेमेन्ट एडरेसको आधारमा गरिने फन्ड ट्रान्सफर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे, अकाउन्ट टोकोनाइजेसन र सेवाबापतको भुक्तानी अन्तरआबद्धता, वालेट–टु–वालेट ट्रान्स्फर र पीएसओ सेटलमेन्टजस्ता विभिन्न सेवा तथा उपकरण उपलब्ध रहेका छन्।