काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका-२२ स्थित खिचापोखरी, न्यूरोडमा भवन निर्माण गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले हालै भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका छन् ।

उक्त अवसरमा कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

उक्त समारोहमा  अध्यक्ष श्रेष्ठले  बैंककै जग्गामा भवन निर्माण गर्ने प्रयोजनका लागि शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । 
 

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैकिंग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । उनले यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने पनि बताए ।


कम्पनीले देशका विभिन्न प्रमुख शहरहरु इटहरी, बिरगञ्ज, भैरहवाबाट आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ  । 

कम्पनीले  काठमाण्डौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । 
त्यस्तै कम्पनीले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना बनाइरहेको छ ।

 

हाल कम्पनीले देशभर १७६ वटा शाखा, २६८ वटा एटीएम,२० वटा विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।