काठमाण्डौ । पञ्चकन्या ग्रुप र काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) बीच झापाको दमक वडा नं. ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भई एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

हालै दिवगंत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठकीे धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५० औँ वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो। 

कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ र प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्यजस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाका लागि गौरवको विषय भएको बताए। यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवा कुनै नहुने उनीहरुको विचार थियो। 

केआईओसीएचका डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पूरा हुने बताए। 

पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नेछ। 

हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका सञ्चालक र वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति थियो।