काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बीच बैंकले प्रदान गर्ने सेवासुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ।

उक्त सम्झौतापत्रमा पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौताअनुरुप पनिकामा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटीबापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ। 

त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार बैंकको बल्खुस्थित काउन्टरलगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्नेछ। यसका साथै उक्त काउन्टरबाट पनिकामा कार्यरत कर्मचारीको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने÷दिनेलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुनेछ।

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकमार्फत गर्ने गराउने सरकारको नीतिअनुरुप ग्लोबल आइएमई बैंकले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालयलगायतका ३० वटाभन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ।